गाउँमा भन्दा शहरमा चर्चित छ पक्कु, ब्राण्डमा जोड्दै प्रेसिडेन्ट
शंकर भण्डारी
नेपालीहरूको महान चाड विजयादशमी अर्थात् दशैं । नेपाली आत्माको सामूहिक उत्सव नेपालीहरूको जीवनमा यो पर्व धार्मिक संस्कार मात्र होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुशीको साझा उत्सव हो । दशैं भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ ।
गाउँले चुलोको धुवाँ, घर आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, काँक्रामा परेको खर्सी, रङ्गीचङ्गी फूल, टीका र जमरा, देवीदेउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ, बाजागाजाको ताल, नाचगानको रमाइलो र आमाको हातबाट बनेका परिकार।
गाउँमा हुर्केका पुस्तालाई दशैं भन्नासाथ बाल्यकालका मीठा स्मृतिहरू जाग्छन् । बिहानैदेखि भजनकीर्तन, देवीदेवताका नाममा आराधना, भाकलपूजा, भागवतपाठ, आँगनमै जमेको परिवार र छिमेकी, चौपारीमा हल्लिएको लिङ्गे पिङ । यी सबै क्षण केवल धार्मिक संस्कार थिएनन्, सामूहिकतामा खुशी बाँड्ने अवसर पनि थिए । दशैंको अर्थ नै परिवार, गाउँ, र समाजलाई एकसाथ बाँध्ने धागो हो ।
खसी–बोकासँग जोडिएको सामाजिक आयाम
दशैं आयो भने गाउँघरमा खसी–बोका काट्ने दृश्य अझै पनि आँखाअघि झल्किन्छ । तर त्यो मासु सबैका लागि सजिलै उपलब्ध थिएन । धेरैले दुःख गरी पैसा जम्मा गरेर दशैंमा मात्रै एउटा खसी काट्न सक्थे । महिलाले भाकल छुनै नहुने, प्रसादका रूपमा मासु खान नहुनेजस्ता विभेदकारी परम्परा पनि प्रचलित थिए । तर त्यही समाजभित्रै परम्पराले दिएको एउटा अद्भुत खजाना थियो, मासुलाई लामो समयसम्म सुरक्षित राख्ने कला । आज फ्रिज, चिस्यान वा आधुनिक संरचना नभएको त्यतिबेला पुर्खाले प्रयोग गरेको उपाय नै थियो । तोरीको तेल वा घ्यूमा मसला हालेर मासु बिस्तारै आगोमा पकाउने र सुरक्षित राख्ने । यही बुद्धिमानीले जन्म दियो पक्कु भन्ने परिकारलाई ।
बाल्यकालमा दशैंसँग गाँसिएको पक्कुको सुवास अझै पनि जीवित छ । दशैं सकिए पनि तिहारसम्म पक्कु घरमा हुन्थ्यो । बिहान वा बेलुकी भाँडाबाट थोरै निकालेर तताउने, परिवारसँग बाँड्ने त्यो स्वाद मात्र होइन, त्यो सामूहिकता नै हाम्रो संस्कृतिको आत्मा थियो । पक्कु मासुको परिकारमा मात्रै सीमित नभई, त्यो परिवार, सामूहिकता, बचत र आत्मनिर्भर जीवनशैली पनि हो ।

परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने प्रेसिडेन्टको संकल्प
समयसँगै शहरमा जनसंख्या बढ्यो, आधुनिक परिकार म:म:, पिज्जा, बर्गर, केएफसी जस्ता डिश र फास्टफुडले बजार ओगट्न थाले । तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा संकल्प जाग्यो । गाउँमा सीमित परम्परालाई शहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने ।
यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक ‘पक्कु फेस्टिवल’ आयोजना गर्यो । सुरुमा धेरै शंका उठे । शहरबासीलाई पक्कु मन पर्ला ? बर्गर र पिज्जामा रमाउने युवाले यसलाई स्वीकार्लान ? तर हाम्रो विश्वास दृढ थियो । यो परिकार मात्र होइन, आत्मीयता र भावनाको पुनर्जीवन पनि हो ।
पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे । दैनिक सातवटा खसी बराबरको मासु प्रयोग भयो । कतिपय दिन त माग धान्नै गाह्रो भयो । कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उहाँहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो ।
सबैभन्दा भावुक क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने, ‘यो स्वाद आमाको हातको स्वाद जस्तै रहेछ । मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो । मलाई त्यो बालापन, गाउँघर र आमाको सम्झना आयो । मलाई गाउँ फर्किएझैं लाग्यो ।’ त्यो एक वाक्यले पुष्टि गर्यो, हाम्रो प्रयास केवल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो । त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित गर्यो ।
पक्कु फेस्टिवल : परम्परा र आधुनिकताको संगम
पहिलो अनुभवको सफलताले हिम्मत थप्यो । त्यसैले २०८२ सालमा पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको संगमको रूपमा जोड्न प्रयत्न गर्दै छ । यसपटक पनि पाँच दिन लामो फेस्टिवल हुनेछ । करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य रहेको छ ।
यसपटक पक्कुमा विविधता थपिएको छ । जस्ताेकि तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु, घ्यूमा बनेको विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा, अन्य रैथाने र परम्परागत साकाहारी परिकार । साथै पुरातात्विक चिनारीको प्रदर्शन, लिङ्गे पिङ, र सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ ।
हामीलाई विश्वास छ, खानामा संस्कृतिको आत्मा बस्छ । पक्कु केवल परिकार होइन, सामूहिकता, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो । हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ । हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो ।
पक्कु : अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध
पक्कु फेस्टिवल केवल खानाको प्रदर्शनी मात्रै होइन । यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्याएको छ । गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यसपटक १२ हजार भन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ । यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउनेछ । नेपालमा रहेका अन्य होटल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन् ।
प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ । अब पोखरा र विराटनगर जस्ता प्रमुख शहरमा पक्कु र सेकुवाको स्वाद पुर्याउने तयारी भइरहेको छ । दीर्घकालीन लक्ष्य अझ ठूलो छ, अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने ।
हाम्रो सपना छ, विदेशिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकून्, र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकून् ।
पक्कु : एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान
पहिलो फेस्टिवलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस गर्यौं, गाउँमा खाएको पक्कुको स्वाद हजारौं पारखीहरूसँग बाँड्न सक्यौं । त्यो क्षणले देखायो, यो व्यवसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो ।
आज हामी निश्चिन्त भई भन्छौं, पक्कु फेस्टिवल केवल महोत्सव होइन, यो मौलिक स्वाद र नेपालीको पहिचान हो । परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो ।
हामीलाई विश्वास छ, यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ । यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान, व्यवसायी, सेयर सदस्य र उपभोक्ताको साझा सपना हो ।
त्यसैले म सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछु कि पक्कुको स्वाद लिन, यसको मौलिकता र कथा बाँड्न, र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न ।
पक्कु लगायत हाम्रा विभिन्न पर्वसँग जोडिएका परम्परागत खाना केवल एउटा परिकार होइनन्, यी त हाम्रो सामूहिक स्मृति, हाम्रो पहिचान, र हाम्रो भविष्य समेत हुन् ।
(लेखक टीआर भण्डारी (शंकर) पर्यटन व्यवसायी र प्रेसिडेन्ट ग्रुपका अध्यक्ष हुन्)
Source : bikashnews