काठमाडौं । परम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट ग्रुपले ‘दोस्रो पक्कु फेस्टिभल’ भोलि (सोमबार) देखि शनिबारसम्म आयोजना गर्ने भएको छ ।
गत वर्षको सफल पहिलो संस्करणपछि यस पटक २०८२ सालको दोस्रो पक्कु फेस्टिभल आयोजना गर्न लागिएको प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष टीआर भण्डारी (शंकर)ले जानकारी दिए ।
प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगन्जको आयोजनामा हुने यस फेस्टिभलमा अनुभवी मास्टर सेफहरूको साथमा नेपाली स्वादलाई विशेष प्राथमिकता दिइनेछ ।
अध्यक्ष भण्डारीले भने, ‘हाम्रो संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै पाककला र पक्कु खाजाको संस्कृतिको जगेर्ना गर्ने यो मेलाले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने अवसर दिनेछ ।’
मेलामा दशैंमा प्रयोग हुने स्थानीय हस्तकला, सांस्कृतिक तथा परम्परागत बाजा र परिकारहरू प्रदर्शनीमा राखिने छन् ।
आयोजकका अनुसार मेलाले केवल आर्थिक कारोबार मात्र नभई मनोरञ्जन, रहनसहन र खानपानको ज्ञान दिने, नयाँ पुस्तालाई उत्साहित बनाउने र अनुभवी पुस्तालाई संस्मरण र पुनर्ताजगी दिलाउने लक्ष्य लिएको छ ।
फेस्टिभल विशेषगरी शहरमा विभिन्न कारण बसाइसराइँ गरेका र गाउँ जान नसक्नेहरूलाई लक्षित गरी आयोजना गरिएको हो ।
स्वाद, स्वास्थ्य र आतिथ्यलाई मुख्य मन्त्र बनाउँदै २०६३ सालदेखि सुरु भएको प्रेसिडेन्ट ग्रुपको यो व्यवसायिक यात्रा अहिले १५ औं वर्षमा प्रवेश गरिसकेको छ ।
हाल प्रेसिडेन्ट होट रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरी गरी काठमाडौंका सुन्धारा, बालाजु, माछापोखरी, बत्तिसपुतली, महाराजगन्ज, रविभवन, एयरपोर्ट, चितवनको नारायणगढ र रूपन्देहीको लुम्बिनी महिलवारलगायत १६ स्थानमा सेवा विस्तार भइसकेको छ ।
Source : bikashnews