Home / Media coverage / पक्कु फेस्टिभल : दसैँ,अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध
पक्कु फेस्टिभल : दसैँ,अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध
पक्कु फेस्टिभल : दसैँ,अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध

शंकर भण्डारी

नेपालीहरूको महान् चाड दसैँ एक धार्मिक संस्कार मात्रै होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुसीको साझा उत्सव पनि हो।

दसैँ भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ, गाउँले चुलोको धुवाँ, घर आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, रङ्गीचङ्गी फूल, टिका र जमरा, देवी देउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ, बाजागाजाको ताल, नाचगानको रमाइलो र आमाको हातबाट बनेका परिकार।

गाउँमा हुर्केका पुस्तालाई दसैँ भन्नासाथ बाल्यकालका मीठा स्मृतिहरू जाग्छन्। बिहानैदेखि भजन कीर्तन, देवीदेवताका नाममा आराधना, भाकल पूजा, भागवतपाठ, आँगनमै जमेको परिवार र छिमेकी, चौतारीमा हल्लिएको लिङ्गे पिङ । यी सबै क्षण केवल धार्मिक संस्कार मात्रै थिएनन्, सामूहिकतामा खुसी बाँड्ने अवसर पनि थिए। दसैँको अर्थ नै परिवार, गाउँ, र समाजलाई एकसाथ बाँध्ने धागो हो।

खसी–बोकासँग जोडिएको सामाजिक आयाम

दसैँ आयो भने गाउँघरमा खसी–बोका काट्ने दृश्य अझै पनि आँखाअघि झल्किन्छ। तर त्यो मासु सबैका लागि सजिलै उपलब्ध थिएन। धेरैले दुख गरी पैसा जम्मा गरेर दसैँमा मात्रै एउटा खसी काट्न सक्थे। महिलाले भाकल छुनै नहुने, प्रसादका रूपमा मासु खान नहुनेजस्ता विभेदकारी परम्परा पनि प्रचलित थिए। तर त्यही समाजभित्रै परम्पराले दिएको एउटा अद्भुत खजाना थियो। मासुलाई लामो समयसम्म सुरक्षित राख्ने कला।आज फ्रिज, चिस्यान वा आधुनिक संरचना नभएको त्यतिबेला पुर्खाले प्रयोग गरेको उपाय नै थियो—तोरीको तेल वा घ्यूमा मसला हालेर मासु बिस्तारै आगोमा पकाउने र सुरक्षित राख्ने। यही बुद्धिमानीले जन्म दियो पक्कु भन्ने परिकारलाई।

बाल्यकालमा दसैँसँग गाँसिएको पक्कुको सुवास अझै पनि जीवित छ। दसैँ सकिए पनि तिहारसम्म पक्कु घरमा हुन्थ्यो। बिहान वा बेलुकी भाँडाबाट थोरै निकालेर तताउने, परिवारसँग बाँड्ने त्यो स्वाद मात्र होइन, त्यो सामूहिकता नै हाम्रो संस्कृतिको आत्मा थियो। पक्कु मासुको परिकारमा मात्रै सीमित नभई , त्यो परिवार, सामूहिकता, बचत र आत्मनिर्भर जीवनशैली पनि हो।

परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने प्रेसिडेन्टको सङ्कल्प

समयसँगै सहरमा जनसङ्ख्या बढ्यो, आधुनिक परिकार म:म: पिज्जा वर्गर केएफसि जस्ता डिस र फास्टफुडले बजार ओगट्न थाले। तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा सङ्कल्प जाग्यो—गाउँमा सीमित परम्परालाई सहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने।

यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक ‘पक्कु फेस्टिभल’ आयोजना गर्‍यो। सुरुमा धेरै शङ्का उठे। सहरवासीलाई पक्कु मन पर्ला? बर्गर र पिजामा रमाउने युवाले यसलाई स्विकार्लान्? तर हाम्रो विश्वास दृढ थियो यो परिकार मात्र होइन, आत्मीयता र भावनाको पुनर्जीवन पनि हो।

पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे। दैनिक सात वटा खसी बराबरको मासु प्रयोग भयो। कतिपय दिन त माग धान्नै गाह्रो भयो। कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उहाँहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो।

सबैभन्दा सुखद क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने “यो स्वाद आमाको हातको स्वाद जस्तै रहेछ मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो,मलाई त्यो बालापन गाउँघर र आमाको सम्झना आयो , मलाई गाउँ फर्किएझैँ लाग्यो।” त्यो एक वाक्यले पुष्टि गर्‍यो—हाम्रो प्रयास केवल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो। त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित गर्‍यो।

पहिलो अनुभवको सफलताले हिम्मत थप्यो। त्यसैले २०८२ सालमा यस वर्ष पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको सङ्गमको रूपमा जोड्न प्रयत्न गर्दै छ । यस पटक पनि पाँच दिन लामो फेस्टिभल हुनेछ। करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य रहेको छ।

यस पटक पक्कुमा विविधता थपिएको छ !

तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु , घ्यूमा बनेको विशेष पक्कु ,युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा , अन्य रैथाने र परम्परागत शाकाहारी परिकार साथै पुरातात्त्विक चिनारीको प्रदर्शन, लिङ्गे पिङ, र सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ।

हामीलाई विश्वास छ, खानामा संस्कृतिको आत्मा बस्छ। पक्कु केवल परिकार होइन, सामूहिकता, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो। हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ। हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो।

पक्कु : अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध

पक्कु फेस्टिभल केवल खानाको प्रदर्शनी मात्रै होइन। यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटेल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यस पटक १२ हजार भन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ। यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउनेछ। नेपालमा रहेका अन्य होटेल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन्।

प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ। अब पोखरा र विराटनगर जस्ता प्रमुख सहरमा पक्कु र सेकुवाको स्वाद पुर्‍याउने तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिभल आयोजना गर्नसमेत दीर्घकालीन लक्ष्य छ ।

हाम्रो सपना छ , बिदेसिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकुन्, र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकुन्।

पक्कु एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान

पहिलो फेस्टिभलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस गर्‍यौँ, गाउँमा खाएको पक्कुको स्वाद हजारौँ पारखीहरूसँग बाँड्न सक्यौँ। त्यो क्षणले देखायो , यो व्यावसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो।

आज हामी निश्चिन्त भई भन्छौँ, पक्कु फेस्टिभल केवल महोत्सव होइन, यो मौलिकता स्वाद र नेपालीको पहिचान हो। परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो ।

हामीलाई विश्वास छ, यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौँ भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ। यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान, व्यवसायी, सेयर सदस्य र उपभोक्ताको साझा सपना हो।

त्यसैले म सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछु । पक्कुको स्वाद लिन, यसको मौलिकता र कथा बाँड्न, र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न।

पक्कु लगायत हाम्रा विभिन्न पर्वसँग जोडिएका परम्परागत खाना केवल एउटा परिकार होइनन् यी त हाम्रो सामूहिक स्मृति, हाम्रो पहिचान, र हाम्रो भविष्य समेत हुन् ।

लेखक पर्यटन व्यवसायी तथा प्रेसिडेन्ट ग्रुपका अध्यक्ष हुन् ।

Soure : tourismsamachar



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260