Home / HPFN News / बागमती नदी किनारबाट उद्धार गरिएका १ हजारलाई होटल व्यवसायीहरूले निःशुल्क आवास उपलब्ध गराउने
बागमती नदी किनारबाट उद्धार गरिएका १ हजारलाई होटल व्यवसायीहरूले निःशुल्क आवास उपलब्ध गराउने
बागमती नदी किनारबाट उद्धार गरिएका १ हजारलाई होटल व्यवसायीहरूले निःशुल्क आवास उपलब्ध गराउने

काठमाडौं । होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष टी.आर.भण्डारी (शंकर)ले थापाथली लगायतका जोखिमयुक्त विभिन्न स्थानबाट उद्धार गरिएका करीव १ हजार नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने जनाएका छन् ।

शनिबार अध्यक्ष भण्डारीले प्रेस विज्ञप्ति जारी गरेर बागमती नदी किनारबाट उद्धार गरिएका १ हजार नागरिकलाई निःशुल्क बसोबास उपब्ध गराउन सकिने जनाएका हुन् ।

‘होटल व्यवसायी महासंघ, नेपाल आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहन कार्यमा प्रतिवाद्ध रहेको जानकारी गराउँदै आज (शनिबार) काठमाडौंको थापाथली लगायतका बिभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘महासंघअन्तर्गत काठमाडौं उपत्यकामा रहेका सदस्य संस्थाहरूमा आवद्ध होटलहरू मार्फत आवश्यक समन्वय गरी तत्काल करिब १००० जनासम्म नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन हामी सक्षम छौं,’ अध्यक्ष भण्डारीले भनेका छन् ।

‘उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ,’ अध्यक्ष भण्डारीले भने ।

‘यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न महासंघ नेपाल तत्पर रहेको समेत जानकारी गराउँदछौं,’ उनले भनेका छन् ।

बागमती नदी किरामा जग्गा अतिक्रमण गरेर घर, टहरा बनाएर बसेपछि अतिक्रमित जग्गा खाली गराउन सरकारले घर र टहराहरू भत्काइदिएको छ । घर, टहरा भत्काउने क्रममा उद्धार गरिएका नागरिकहरूलाई होटल व्यवसायीहरूले निःशुल्क उपलब्ध गराउने तथा सामाजिक दायित्व अन्तर्गन सहयोग गर्न तयार रहेको जनाएका छन् । महासंघले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Source : republicadainik



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260