रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको पुनर्स्थापना र पुनरुत्थानका लागि होटल व्यवसायी महासंघ, नेपाल (HPFN) ले सरकारसमक्ष ११ बुँदे माग अघि सारेको छ।
महासंघका अध्यक्ष टी. आर. भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई भेटेर प्रभावित व्यवसायीहरूको अवस्था र तत्काल आवश्यक सरकारी सहयोगबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो।
महासंघले प्रभावित व्यवसायको क्षति मूल्याङ्कन तथा आधिकारिक अभिलेख, सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा विशेष अनुदान, बैंक ऋणको Rescheduling/Restructuring, पूर्ण क्षति भएका व्यवसायीलाई विशेष ऋण राहत, रोजगारी पुनर्स्थापना, विस्थापित व्यवसायीलाई सुरक्षित स्थानमा दीर्घकालीन लिज, बीमा दाबीको फास्ट–ट्र्याक तथा कर र नवीकरण शुल्कमा छुट लगायतका माग गरेको छ।
बाढी तथा पहिरोबाट होटलका भवन, संरचना, फर्निचर, भान्साका उपकरण, विद्युतीय सामग्री, खाद्यान्न तथा अन्य व्यावसायिक सामग्रीमा ठूलो क्षति पुगेको र कतिपय व्यवसायीको घरजग्गासमेत प्रभावित भएको महासंघले जनाएको छ। व्यवसाय सञ्चालन ठप्प हुँदा पनि बैंकको सावाँ–ब्याज, घरभाडा, कर्मचारी खर्च तथा अन्य वित्तीय दायित्व कायम रहेकाले व्यवसायी थप आर्थिक संकटमा परेको महासंघको भनाइ छ।
महासंघले प्रभावित क्षेत्रका व्यवसायलाई ‘Recovery, Rehabilitation and Restart’ अवधारणाअनुसार पुनः सञ्चालन गर्न समयबद्ध विशेष कार्यक्रम ल्याउन माग गरेको छ। साथै, गोसाइँकुण्ड, लाङटाङलगायतका पर्यटन क्षेत्र तथा चीनसँग जोडिएको रसुवाको रणनीतिक महत्त्वलाई ध्यान दिँदै ‘रसुवा पर्यटन पुनरुत्थान तथा प्रवर्द्धन विशेष कार्यक्रम’ सञ्चालन गर्नुपर्ने जनाएको छ।