उद्धार गरिएका नागरिकलाई आश्रय दिन होटल व्यवसायी महासंघको तत्परता
उद्धार गरिएका नागरिकलाई आश्रय दिन होटल व्यवसायी महासंघको तत्परता

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा प्रतिबद्ध रहेको जनाउँदै जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंको थापाथलीलगायत विभिन्न स्थानबाट सरकारले उद्धार गरेका नागरिकहरूलाई सुरक्षित आश्रय उपलब्ध गराउन आवश्यक समन्वय गर्न सकिने उल्लेख गरेको छ।

महासंघअन्तर्गत काठमाडौं उपत्यकामा रहेका सदस्य संस्थाहरूमा आबद्ध होटलहरूको माध्यमबाट करिब १,००० जनासम्म नागरिकलाई अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था मिलाउन सकिने जानकारी दिइएको छ। उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा तथा आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित आवास उपलब्ध गराउने महासंघको प्रतिबद्धता रहेको विज्ञप्तिमा उल्लेख छ।

यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न महासंघ तत्पर रहेको पनि जनाइएको छ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले संकटको समयमा नागरिकको सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।

Sourcce : kalikakhabar