विदेशी नागरिकको आगमन, बसोबास तथा गतिविधिको व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign National Management Information System – FNMIS) को शुभारम्भ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस प्रणालीको शुभारम्भसँगै अब नेपालमा आउने विदेशी नागरिकहरूको विवरण व्यवस्थापन आधुनिक सूचना प्रविधिमार्फत एकीकृत रूपमा गर्न सकिने भएको छ। प्रणालीले अध्यागमन प्रक्रिया, सुरक्षात्मक व्यवस्थापन तथा पर्यटन क्षेत्रको सेवा प्रवाहलाई थप सहज र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा गृह मन्त्रालय, अध्यागमन विभाग, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, साथै निजी क्षेत्र र सम्बन्धित विभिन्न निकायहरूको सक्रिय सहभागिता तथा सहकार्य रहेको थियो। विभिन्न निकायबीचको समन्वय र पहललाई कार्यक्रममा उपस्थित सरोकारवालाहरूले प्रशंसनीय बताएका छन्।
होटल व्यवसायी महासंघ नेपालले FNMIS प्रणालीको शुभारम्भलाई स्वागत गर्दै यसले विदेशी नागरिकको व्यवस्थापनलाई अझ व्यवस्थित बनाउनुका साथै नेपालको पर्यटन क्षेत्रलाई थप सुरक्षित र पर्यटनमैत्री बनाउने विश्वास व्यक्त गरेको छ। महासंघका अनुसार यस प्रणालीबाट होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूलाई पनि सूचनाको पहुँच सहज भई सेवा गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
साथै, आधुनिक प्रविधिको प्रयोगमार्फत सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य मजबुत भई नेपाललाई सुरक्षित, व्यवस्थित र आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न FNMIS ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।