काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका सुकुम्बासी नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
महासंघका अध्यक्ष टीआर भण्डारी (शंकर)ले आज एक वक्तव्य जारी गर्दै काठमाडौंको थापाथली लगायत विभिन्न स्थानबाट उद्धार गरिएका नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित बसोबास उपलब्ध गराउन आफूहरू सक्षम रहेको बताए ।
‘होटल व्यवसायी महासंघ नेपाल आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहन कार्यमा प्रतिबद्ध रहेको जानकारी गराउँदै आज काठमाडौंका थापाथली लगायतका विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदछौँ ।’ महासंघले भनेको छ ।
महासंघअन्तर्गत काठमाडौं उपत्यकाका सदस्य होटलहरूमार्फत आवश्यक समन्वय गरी करिब १००० जनासम्मलाई तत्काल आश्रय दिन सकिने अध्यक्ष भण्डारीले बताए ।
उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा तथा आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराइने महासंघले जनाएको छ । यसका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न महासंघ पूर्ण रूपमा तयार रहेको समेत अध्यक्ष भण्डारीको भनाइ छ ।
Source : dainiknepal